कोहलीको खुलासा : कप्तान पद छाडेपछि एकजना क्रिकेटरको मात्र मेसेज आयो

कोहलीको खुलासा : कप्तान पद छाडेपछि एकजना क्रिकेटरको मात्र मेसेज आयो

कहिरन समाचार

एसिया कपमा पाकिस्तानविरुद्धको सुपर फोरको खेलमा विराट कोहली पुरानो लयमा फर्किएको देखिएका छन् । करिब एक महिना क्रिकेट मैदानबाट टाढा रहँदा उनी दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज, वेस्ट इन्डिज र जिम्बाब्वेको भ्रमणमा देखा परेका थिएनन् । ब्रेकपछि उनले एसिया कपमा उत्कृष्ट पुनरागमन गरेका छन् ।

पाकिस्तानविरुद्धको पहिलो खेलमा उनले ३५ रन बनाएका थिए । त्यसपछि उनले हङकङविरुद्ध अर्धशतक प्रहार गर्दै ५९ रन बनाए । यसपछि तेस्रो खेलमा उनले पाकिस्तानका उत्कृष्ट बलरको अगाडि ४४ बलमा ६० रन बनाए । यस इनिङ्समा कोहलीले चार चौका र एक छक्का प्रहार गरेका थिए ।

कोहलीलाई जसरी विकेटमा दौडिरहेको देखियो, त्यसबाट लाग्थ्यो उनी अन्तर्राष्ट्रिय शतकको खोजीमा विगत तीन वर्षदेखि आउट अफ फार्ममा परेका क्रिकेटर होइनन् । तर, क्र्याम्पिङका कारण उनी फिल्डिङका क्रममा मैदानमा देखिएनन् ।

भारतको पराजयपछि कोहली पत्रकार सम्मेलनमा आए । तर यो कोहली अर्कै हो भन्ने कुरा फेरि स्पष्ट भयो । वास्तवमा आफ्नो आक्रामकताका कारण धेरै पटक आलोचनाको सामना गर्नुपरेका कोहलीले पत्रकार सम्मेलनमा निकै सहज ढंगले प्रश्नको जवाफ दिए ।

उनले भने, ‘म १४ वर्षदेखि लगातार क्रिकेट खेलिरहेको छु, यो मौकाको कुरा होइन । टिमको ड्रेसिङ रुममा जे हुन्छ त्यो मेरो लागि महत्वपूर्ण हुन्छ ।’ पाकिस्तानविरुद्ध बनाएको ६० रनमा उनले भने, ‘मैले आफ्नो तर्फबाट १२० प्रतिशत दिने प्रयास गरेको छु ।’

तर हाँस्दै प्रस्तुत भएका कोहलीले केही समयदेखि भोग्दै आएको पीडा लुकाउन सकेनन् । उनले भने, “धेरै मानिसहरू टिभीमा बोल्छन्। तर म तपाईहरूलाई यो भन्न चाहन्छु कि जब मैले टेस्ट कप्तानबाट राजीनामा दिएँ, मलाई केवल एक व्यक्तिको सन्देश आयो, जससँग मैले पहिले खेलेको छु। ती व्यक्ति एमएस धोनी हुन्। अरुसँग पनि मेरो फोन नम्बर छ । उनीहरु टिभीमा धेरै सुझाब दिन्छन् । तर जोसँग मेरो नम्बर छ, उनको म्यासेज आएन ।’

कोहलीले धोनीसँगको आफ्नो विशेष सम्बन्ध पनि उल्लेख गरेका छन् । उनले भने, ‘एउटा इज्जतको सम्बन्ध हुन्छ । न त उनीहरू हामीसँग केही चाहन्छन्, न म उनीहरूबाट केही चाहन्छन्।’