संघीय कानून निर्माणमा सरकार गम्भीरतापूर्वक लागेको छ : प्रधानमन्त्री

संघीय कानून निर्माणमा सरकार गम्भीरतापूर्वक लागेको छ : प्रधानमन्त्री

कहिरन

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका संघीय कानुनहरू निर्माणको विषयमा छलफल भएको हो ।

मुख्यमन्त्री यादवको नेतृत्वमा आएको टोलीले संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । भेटमा उनहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई अल्टिमेटम दिएकोमा सो अवधि पूरा भएको भन्दै आफूहरू संघर्षमा जाने बताएका थिए ।

जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै संघीयताको जन्मदाता भएको स्पष्ट पार्दै संघीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए ।

‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो । तपाईंहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ । तपाईंहरूले आ–आफ्नो पार्टीमा पनि पहल बढाउनूस् र संघीयता कार्यान्वयन प्रभावकारी बनाऊँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले संघीयतासम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको छ । तर, त्यसको अन्तिम फैसला संसदले गर्नुपर्छ । त्यसका लागिसमेत तपाईं–हाम्रो संयुक्त पहल जरूरी छ । त्यसैले अहिले संघर्षका कार्यक्रमलाई थाती राखेर थप पहलमा केन्द्रित होऔं ।’

छलफलमा प्रधानमन्त्रीको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताए ।