एक सिंगे गैँडाको सुरक्षामा चुनौती

एक सिंगे गैँडाको सुरक्षामा चुनौती


मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिंगे गैँडाको सुरक्षामा चुनौती देखिएको छ । हालै दुईवटा गैँडा तस्करले मारेको घटना छानविनका लागि गठित समितिले निकुञ्जको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै गैँडा संरक्षणमा चुनौती देखिएको औंल्याएको हो ।

समितिले थप क्षति हुन नदिन आगामी माघ १ गतेभित्र निकुञ्जको पुरै क्षेत्रमा तत्काल स्वीप अप्रेशन चलाएर वर्तमान अवस्थासहितको प्रतिवेदन विभागमा बुझाउन भनेको छ । गत कात्तिक ३० गते निकुञ्जको चपरचुली क्षेत्रमा ६ र १८ वर्षका दुईवटा पोथी गैंडा खाल्डोमा मेरेको अवस्थामा भेटिए । पहिला ठूलो गैंडा र त्यसको ७ दिनपछि सानो गैंडा खाडलमा परेको छ ।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार तस्करले गैंडा मार्न निकुञ्जको सुरक्षा पोष्टबाट २ दशमलव ३ किलोमिटर र राप्ती नदीको किनारबाट करिब ३ दशमलव ५ किलोमिटर नजिकै २० दिनभन्दा बढी समय लगाएर ७ वटा खाल्डा खनेका थिए । गैंडा मारेको २० दिनसम्म पनि उक्त स्थानमा निकुञ्जका कोही पुगेनन ।

‟घटनास्थल नजिकै आगो बाल्ने अगेनो,कपडाका टुक्रा, पानीका बोतल समेत भेटिएकाले तस्करहरु सेल्टर बनाएर बसेको देखिएको छ । जंगलभित्र नै गैंडाको खाग काटेर, आगो बालेर खाग उमालेर सफा गरेको पनि पाइएको छ । तर निकुञ्ज प्रशासनले त्यसको सुइँको सम्म पाएन,प्रतिवेदनमा भनिएको छ ।”

पछिल्लो चार वर्षमा मात्रै तस्करले ११ वटा गैंडा मारेको वन्यजन्तु तथा निकुञ्ज विभागलाई समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । निकुञ्जको मुख्य कार्यालय कसरा, सेक्टर कार्यालय सौराहा,रेञ्ज पोष्ट र पोष्टबाट गरिने गस्ती प्रभावकारी नभएको,संयुक्त गस्तीको संख्या कम भएको,अधिकांश समय राप्ती नदी तटीय क्षेत्रमा गस्ती गर्दा कोर इलाका र गैंडाको बासस्थानमा ध्यान केन्द्रित हुन नसकेको समितिले बताएकोे छ ।

समितिले आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सम्वेदनशील क्षेत्रमा जासुरी क्यामेरा र वाइल्डलाइफ मनिटरिङ क्यामेरा राख्न,नियमित गस्ती बढाउन लगायतका सुझाव दिएको छ ।