मुस्ताङबाट यस वर्ष ४९ करोडको स्याउ निकासी

मुस्ताङबाट यस वर्ष ४९ करोडको स्याउ निकासी


काठमाडौँ । मुस्ताङबाट यस वर्ष ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको हो ।

कृषकले बिक्री गरेको सरदर प्रतिकिलो रु एक सय १० का दरले हिसाब गर्दा ४९ करोड २५ लाख २५ हजार मूल्य बराबरको स्याउ निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख नेत्रप्रसाद भट्टका अनुसार म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारीले बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् ।

सडक यातायातको सुविधासँगै सहज बजार र राम्रो मूल्य पाउन थालेपछि मुस्ताङका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । गत वर्षसम्म कूल एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएकोमा यस वर्ष २० हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ ।