सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्ने अबस्था आयो : केपी ओली

सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्ने अबस्था आयो : केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अपराधकर्ममाथि हस्तक्षेप गर्न अदालतसँग गुहार मागेका छन् । अपराधीलाई प्रोत्साहित गर्ने, समान्न नमान्ने र समाते पनि माफी दिने काम सरकारले गरिरहेकाले अदालतले हस्तक्षेप गर्नु पर्ने अबस्था आएको अध्यक्ष ओलीले बताएका हुन् ।

पार्टीको झुलाघाट–चिवा भञ्ज्याङ पदयात्राको क्रममा आज (बुधबार) रुकुम पूर्वमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय हितको रक्षा, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने दाबी पनि गरेका छन् ।

उनले भने, ‘अहिले राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता निहुरिएको अवस्था छ । राष्ट्रिय हितको रक्षा हुने कुरा, स्वाधिनताको प्रयोग हुने कुरा, त्यसको रक्षा हुने कुरा, हाम्रो स्वतन्त्रताको प्रयोग गर्ने कुरा र हाम्रो ऐतिहासिक गौरवमा, उपलब्धिहरुमा, हाम्रो स्वाधिनतामा गर्व गर्ने कुरा यो कुरा समाप्त भएको छ । जसलाई फेरि उठाउनु पर्नेछ । भ्रष्टाचारलाई अन्त्य गर्नुछ ।’

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अफ्ठेरो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताए ।