जनतालाई भरोसा दिने सूत्रको खोजीमा छु : प्रधानमन्त्री प्रचण्ड

जनतालाई भरोसा दिने सूत्रको खोजीमा छु : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार एक वर्षको अवधिमा जनतामा आशा जगाउन सफल भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ सम्बन्धी अन्तरक्रियामा दाहालले अब सेवा प्रवाह, विकास निर्माण तथा नीति तर्जुमाका क्षेत्रमा नयाँ शुरूआत गरिने बताए ।

“मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु । वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदै छ । अर्को वर्ष नयाँ शुरूआत गर्नुपर्नेछ । जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु,” प्रधानमन्त्रीले भने ।

कर्मचारितन्त्रमा रहेका सम्पूर्ण व्यक्ति ज्ञान, अनुभव र क्षमताको दृष्टिकोणले सक्षम रहे पनि त्यसको सदुपयोग हुन नसकेको उनको भनाइ थियो । उनले भने, “कर्मचारीको क्षमताको जसरी जति उपयोग हुनुपर्ने थियो, त्यसबाट सेवा र विकासलाई उपलब्धिमूलक बनाउन सकिएको छैन । यसमा कुनै न कुनै ‘ग्याप’ छ, त्यसलाई कसरी हल गर्ने भन्नेमा आवश्‍यक छलफल गर्नुपर्छ ।”

सरकारको ध्यान शासकीय सुधार गर्नेमा केन्द्रित भएको जनाउँदै प्रधानमन्त्री दाहालले प्रशासनमा सुधार गर्ने मात्रै नभई समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा छलफल गरिरहेको बताए। “शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौं,” दाहालले भने ।

सेवा प्रवाहका क्षेत्रमा ससाना काममा सुधार गर्दै ठूला कामको लक्ष्यलाई निर्धारित गरेर जान जरुरी रहेको औंल्याउँदै प्रधानमन्त्री दाहालले जनताले प्रत्यक्ष रूपमा आफूलाई सेवा प्राप्त भएको अनुभव गरेनन् भने सरकार, कर्मचारितन्त्र र राजनीतिक दलप्रति जनताको भरोसा कमजोर हुँदै जाने र विश्वास टुट्ने बताए । “तत्काल जनतालाई सेवा प्रवाह गर्ने विषयलाई केन्द्रित गरेर विद्यमान ऐन कानूनभित्रै बसेर सेवा प्रवाहमा सुधार गर्न सकिने के होरु ऐन संशोधन गरेर दीर्घकालीन ढंगले नै जानुपर्ने के हो भन्नेबारे ठोस निष्कर्षमा पुग्नुपर्नेछ,” दाहालले भने ।

आफू र मातहत निकायको नियमित कामलाई नतीजासँग कसरी जोड्ने भनेर सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्ने बित्तिकै सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक जस्तो देखिएको बताए । “कहीं न कहीं समस्या छ । समाधान गर्ने उपाय पनि खोज्नुपर्ने हुन्छ,” उनले भने । रासस