एनसेलको स्वामित्व खरिद–बिक्री रोक्न सरकारलाई निर्देशन

एनसेलको स्वामित्व खरिद–बिक्री रोक्न सरकारलाई निर्देशन


काठमाडौं । संसदीय समितिले मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले ६ अर्ब रुपैयाँमा बिक्री गरेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद–बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आज बसेको बैठकले एनसेलको सेयर स्वामित्व खरिदबिक्री रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । यस विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय समितिले गरेको छ ।

एनसेलको सेयर खरिद–बिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतकै अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री एवं कांगे्रस सांसद ज्ञानेन्द्र बहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिन नहुनेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति तथा सांसद डाक्टर स्वर्णीम वाग्लेले आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गरेको टिप्पणी गरे । उनले अजियाटाका सिइओलाई समितिले पत्र काट्न माग गरे ।

समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । आज प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो ।