नेपाली सेनालाई गिजोल्ने प्रयास, क्षम्य नहुने प्रधानसेनापतिको चेतावनी

नेपाली सेनालाई गिजोल्ने प्रयास, क्षम्य नहुने प्रधानसेनापतिको चेतावनी


काठमाडौँ । नेपाली सेनालाई गिजोल्ने प्रयास भएको छ । देशको प्रमुख सुरक्षा निकाय सेनाभित्र विवाद सिर्जना भएको भ्रम छर्ने प्रयास भएको भन्दै प्रधानसेनापति प्रभुराम शर्माले आपत्ती जनाएका छन् । सेनाभित्र एकपछि अर्को गर्दै काण्डैकाण्डका घटना बाहिरिएसँगै प्रधानसेनापति शर्माले अनर्गल प्रचारप्रति आपत्ती जनाउनु भएका हुन् ।

उनले नेपाली सेनाका कामकारवाहीहरु, यसको नियमित संचालन प्रकृया लगायतका विषयमा अनर्गल प्रचारवाजी भइरहेको तर्फ सचेत रहन निर्देशन समेत दिएका छन् । नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने दुस्प्रयासले सेना कमजोर नहुने प्रधानसेनापति शर्माले उल्लेख गरेका छन् ।

राजदूत बन्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य सम्झौता गरेको र त्यसैका आधारमा पदोन्नतीको लाभ लिईरहेको भन्ने कुरा व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुस्प्रचार पूर्णत गलत रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्ड र आफूबीच कुनै गोप्य सम्झौता नभएको उनले दावी गरे ।

गण तथा गुल्महरुको कमाण्ड गरिरहेका अधिकृतहरुका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रममा प्रधान सेनापति शर्माले आफूले कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने काम नगरेको बताउनु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ ।

व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिबद्ध रहेको उनले बताए । उनले व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टा क्षम्य नहुने समेत बताएका छन् ।