सुन-चाँदीसहित भारतीय नागरिक पक्राउ

सुन-चाँदीसहित भारतीय नागरिक पक्राउ

कहिरन

काभ्रेको बनेपाबाट सुन-चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बनेपाले भारतको महाराष्ट्र साङ्ली जिल्ला घर भएका ३९ वर्षीय सचिन बिभुतेलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले सोमबार साँझ बनेपा नगरपालिका-७ वकुटोलस्थित एक घरबाट पक्राउ गरेको हो। अवैध रूपमा ठूलो परिमाणमा सुन तथा चाँदी गालेर बिक्री गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनीबाट बिल नभएको २२ लाख ६१ हजार ९०१ रुपैयाँ बराबरको २३५.९ ग्राम सुन बरामद भएको हो। यस्तै २ लाख ४३ हजार २६५ रुपैयाँ बराबरको १९०१.२६ ग्राम चाँदी पनि प्रहरीले बरामद गरेको हो।

स्रोत नखुलेको ५ लाख ७३ हजार १३५ रुपैयाँ र २२ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ।