सेयर बजारमा सुधार

सेयर बजारमा सुधार

कहिरन

मंगलबार साँझ सरकारले निजी क्षेत्रसहित आर्थिक वातावरण सुधारको लागि छलफल चलाएसँगै सेयर लगानीकर्ताहरूमा समेत आशा जागेको छ।

यही कारण मंगलबार उच्च अंकले घटेको बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले बढेको छ।

सामान्यतया बजार न्यूनतम तहमा हुँदा साना लगानीकर्ताहरू डराउने र ठूला लगानीकर्ताहरूले भने सेयर उठाउने गर्दै आएको छ।  तर, यसपटक भने ठूलाहरूको क्षमतामा समेत ह्रास आएकोले बजारले स्पष्ट दिशा समात्न सकेको छैन।

तर, बैंकहरूले यसअघि नै निक्षेपको ब्याजदर घटाएको र कर्जाको ब्याजदर पनि घट्ने अवस्था बन्दै गएको छ।

सरकारले यसमा थप पहल गर्ने संकेत मंगलबारको छलफलमा देखिएपछि लगानीकर्ताहरू आशावादी भएका हुन्।

पछिल्लो समय मुलुक बाह्य क्षेत्र दबाबबाट पूर्ण मुक्त भएको, विदेशी पर्यटकको आगमन बढेको जस्ता कारणले आन्तरिक क्षेत्रमा पनि सुधारको सम्भावना देखिँदै गएको छ।

‘जलविद्युत क्षेत्रको पुँजी लागत भनेकै ब्याजदर हो, यो घट्ने क्रममा छ, पर्यटकको आगमनमा भएको वृद्धिले होटल क्षेत्रलाई लाभ पुगेको छ, सरकारले उत्पादनमूलक क्षेत्र चलायमान बनाउने प्रयास गरिरहेको छ,’ एक ब्रोकरले भने, ‘यही कारण बजारमा पनि सुधारको अपेक्षा बढेको छ।’

अहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईले घोषणा गरेको आन्दोलनले केही लगानीकर्ताको मनोविज्ञान खलबलिएको र उनीहरूमा डर देखिएको समेत ब्रोकरहरू बताउँछन्। तर, बुझेका लगानीकर्ताहरूमा यस्तो दुविधा नरहेको उनीहरूको भनाइ छ।

यसैबीच, बुधबार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ बिन्दुमा बन्द भएको छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ९५ करोड ४ लाख ७९ हजार ५८३ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ पुगेको छ।

यस दिन २९४ वटा धितोपत्रको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच भएको हो।

बुधबार बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१६ रूपैयाँ ९० पैसा पुगेको छ।

यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य १८४ रुपैयाँ ६० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा सयपत्री हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ८.१५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४४० रूपैयाँ ९० पैसामा झरेको छ।

यस्तै, १०.५०% एसबिएल डिवेञ्चर २०८२ को मूल्य ७.४९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार रूपैयाँमा सीमित भएको छ।

बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता २८३ रूपैयाँमा १० करोड ७६ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ८.६४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा प्राइम कमर्सियल बैंकको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १४४ रूपैयाँ १० पैसामा १० करोड २० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.०३ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.४९ प्रतिशतले बढेको छ।