माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

कहिरन

‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले चलचित्र संघले आफ्नो माग आज (बुधवार) पूरा नगरे फिल्मको प्रदर्शन रोक्ने बताएका छन् । निर्माता र चलचित्र सङ्घबिच वार्ता गर्न मंगलबार गठित वार्ता टोलीले समस्या समाधानका लागि बुधवारसम्म समय मागेको आज फिल्म प्रदर्शन जारी राखिएको उनको भनाइ छ ।

हामीले आजको लागि पनि फिल्मको शो राखेका थिएनौँ’, कँडेलले भने, ‘निर्माता संघको वार्ता टोलीका संयोजक अशोक शर्माको अनुरोधमा एक दिन पर्खिएका हौँ।’

‘आज तीन बजेसम्म समय माग गरिएको छ । त्यो समयसम्म समस्या समाधान नभए फिल्मको प्रदर्शन रोक्छौँ’ कँडेलले थपे ।

फिल्म ‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरलगायत मुद्दाको विषयमा छलफलका लागि चलचित्र संघ र चलचित्र निर्माता संघले वार्ता टोली नै गठन गरेको छ । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको हो ।

र्माता संघको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रविन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य छन् ।

त्यस्तै चलचित्र संघको तर्फबाट गठित वार्ता टोलीमा पूर्वअध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य रहेका छन् ।

दुबै वार्ता टोलीबीच मंगलबार एक चरणको छलफल समेत भएको थियो । छलफलमा ‘दिमाग खराब’ले उठाएको विषयमा चलचित्र संघ र निर्माता संघबिचको विषय भएको भन्दै फेरि छलफलबाट टुङ्ग्याउने सहमति भएको चलचित्र संघका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थले बताए ।

के थियो विवाद ?

‘दिमाग खराब’ तिहारको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्मले सुरुको समय राम्रो सो पाए पनि हिन्दी फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आएपछि सो कटौतीमा परेको थियो । सोही विषय र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ निर्माण कम्पनी सिनेमा आर्ट्सले शो र शेयर बाँडफाँडको विषयमा आपत्ति जनाउँदै प्रदर्शन रोक्ने चेतावनी दिएको थियो । ‘दिमाग खराब’को चेतावनीपछि चलचित्र संघले निर्माण युनिटसँग माग सम्बोधनका लागि मंगलबारसम्म समय माग गरेको थियो ।