किसानले बेच्छन् बर्सेनि लाखौंको अलैंची

किसानले बेच्छन् बर्सेनि लाखौंको अलैंची

कहिरन

बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैंची खेती हुँदै आएको छ। यहाँका कृषकले ‘नमूना अलैंची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैंची खेती गर्दै आएका हुन्। बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौंको अलैंची यहाँबाट निर्यात गर्ने गरेका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ। अलैंची फुल्ने बेला लामो समय खडेरी पर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको नमूना अलैंची उत्पादक कृषक समूहका अध्यक्ष विमल पौडेलले जानकारी दिए।

आठ वर्ष अगाडि खेती सुरु गरे पनि छ वर्षदेखि उत्पादन दिन थालेको भन्दै अलैंचीले विस्तारै बजारसमेत पाउन थालेको उनको भनाइ छ। गाउँको तीन सय रोपनीमा गरेको अलैंची खेती किसानको आयआर्जनको माध्यम बनेको उनले बताए। दुई वर्ष अगाडि रु ३५, गत वर्ष रु २८ र यस वर्ष रु २२ लाखको अलैंची निर्यात भएको उनको भनाइ छ। उनले यस वर्ष १६ क्विन्टल अलैंची बिक्री गरेको जनाउँदै आठ सयदेखि एक हजार पाँच सय रूपैयाँसम्म मूल्य पार्न सफल भएको बताए। समयममा पानी परेको भए यस वर्ष झण्डै ३५ लाख रूपैयाँ बढीको अलैंची उत्पादन गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

‘यो ठाउँमा अलैंची राम्रो उत्पादन भइरहेको थियो, पोहोरपरार साल राम्रो उत्पादन हुँदा मूल्य कम पाइयो, यस वर्ष कम उत्पादन भयो, मूल्य बढी पाइयो, मुख्य समस्या खडेरी बन्यो, चैत–वैशाखमा फूल फुल्ने र दाना हाल्ने गर्छ, त्यसबेला पानी परेन दाना र फूल सकेपछि उत्पादन राम्रो गर्न सकिएन,’ अध्यक्ष पौडेलले भने, ‘तर हामीहरू उत्साहित छौं, उत्पादन बढाउने गरी काम गरिरहेका छौं, हामीले उत्पादन गरेको अलैंची धेरै ठाउँमा पुग्ने गरेको छ, किसान पनि यसको खेती गर्नतर्फ आकर्षित भएका छन्, बजार व्यवस्थापनलाई पनि जोड दिएका छौं।’

बरेङ गाउँपालिकाले वडा नं २ हुग्दिशिरलाई अलैंची खेतीको पकेट क्षेत्र घोषणा गरी किसानलाई व्यावसायिक बन्न आकिर्षत गरेको छ। पाखोबारीमा पनि अलैंची राम्रो हुने हुँदा वनमाराले ढाक्न थालेका जग्गाको सदुपयोग हुन थालेको स्थानीय कृषक तुलसीप्रसाद शर्माले बताउनुभयो । हाल तीन सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिँदै आए पनि आफूहरू यसको क्षेत्र विस्तार गर्ने योजनामा रहेको उहाँको भनाइ छ। अलैंचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने हुँदा पालिकाले प्राविधिक सहयोग गरे थप उत्पादनमा टेवा पुग्ने शर्मा बताउँछन्। अलैंची खेतीमा बरेङ गाउँपालिकासहित केन्द्र र प्रदेश सरकारले समेत सहयोग गर्दै आएको उनको भनाइ छ।

उनले भने, ‘पहिले वनमाराले ढाकेको बाँझो जमिनमा अहिले अलैंचीको व्यावसायिक उत्पादन गर्न थालेका छौँ, खेती सुरू गर्ने बेला राम्रो उत्पादन नभएर लगानी खेर जान्छ कि, बजार पाइँदैन कि भन्ने लागेको थियो, अहिले बजार पनि पाइएको छ, उत्पादन पनि ठिकै छ, त्यसले गर्दा हामीहरू थप उत्साहित भएका छौँ, घरबाटै अलैंचीको गुणस्तर हेरेर ग्राहकले लैजाने गर्नुभएको छ, अन्य बालीलाई जस्तो धेरै समय दिन पर्दैन, गाउँमा समूह बनाएर महिला दिदीबिहिनीलाई समावेश गरेका छौं, यसबाट गाउँमा दुई–चार जनालाई स्वरोजगार पनि बनाएको छ।’