उन्नति सहकार्य लघुवित्तको आज एफपिओ निष्कासन

उन्नति सहकार्य लघुवित्तको आज एफपिओ निष्कासन

कहिरन

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आज (मंगलबार) देखि एफपिओ निष्कासन गरेको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपिओ जारी गरेको हो।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपछि बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। सोही पुँजी संरचना ऐन अनुसार कायम गर्न कम्पनीले एफपिओ जारी गरेको हो।

कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गरेको हो।

उक्त सेयरमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि मंसिर ५ गतेसम्म लम्बिनेछ।

उक्त एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी प्लस’ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।