मुगु सामुहिक हत्या: पोष्टमार्टम सकियो, भोली आफन्तलाई शब बुझाइने

मुगु सामुहिक हत्या: पोष्टमार्टम सकियो, भोली आफन्तलाई शब बुझाइने


काठमाडौँ । मुगुको सामुहिक हत्या काण्डमा ज्यान गुमाएका चारै जनाको पोष्टमार्टम सकिएको छ ।

गत कात्र्तिक ८ गते राती घरभित्रै बिभत्स रुपमा हत्या गरिएका छायाँनाथ रारा नगरपालिका ६ का २८ बर्षिया श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा र दुधे बालक रहर बोहराको आज पोष्टमार्टम सकिएको प्रहरीले जनाएको छ ।

पोष्टमार्टम सकिएपनि मृतक श्रीदेबीका श्रीमान दिपक बोहराले भने हत्यारा पत्ता नलागेसम्म शब नबुझ्ने अडान लिएका छन् । प्रहरीले भने आज साँझ परेकाले आफन्तलाई शब बुझाउन ढिला भएको जनाउँदै भोलीमात्रै शव जिम्मा लगाउने बताएको छ ।

घटना भएको आज पाँच दिन बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रहरीको आलोचना भईरहेको छ । एसएसपी गोपाल चन्द्र भट्टराईले हत्यारा चाँडै पत्ता लगाउने बताएका छन् । उनले केहि सञ्चारमाध्यमहरुले हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको भनेर प्रचार गरेपनि त्यसमा कुनै सत्यता नभएको बताए ।

यस्तै घटना स्थलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन भएकाले सर्बसाधारणलाई कुनै त्रास नलिन पनि उनले अपिल गरेका छन् ।

घटनास्थलबाट प्रहरीले कुनै क्लु नभेटिएपछि अनुसन्धानका लागि डिआईजी भिम ढकाल स्वयम् घटनास्थल पुगेका छन् । प्रहरीले अहिले पनि बिभिन्न ब्यक्तिहरुलाई बिषेश निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । आफन्तहरुले भने घटनामा गाउँलेकै संलग्नाता हुन सक्ने भन्दै गाउँलेमाथि नै अनुसन्धान गर्नु पर्ने बताउँदै आएका छन् ।