कोशीका मुख्यमन्त्री कार्की एमालेको दवावमा

कोशीका मुख्यमन्त्री कार्की एमालेको दवावमा


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की एमालेको दवावमा परेका छन् ।

सत्तागठबन्धनबाट विद्रोह गरेर एमालेको साथमा मुख्यमन्त्री बनेका कार्कीलाई सरकार विस्तारका लागि एमालेले दबाब दिएको हो । तर मुख्यमन्त्री कार्की भने एमालेको दबाब छल्न कहिले काठमाडौँ कहिले विविध कार्यक्रममा सहभागी हुन विराटनगर बाहिर जाने गरेका छन् ।

एमालेको समर्थनमा आफ्ना पक्षका ८ जना सांसद लिएर मुख्यमन्त्री बनेका कार्कीले कात्तिक १ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो । विश्वासको मत लिएलगत्तै एमालेले सरकार विस्तारका लागि दबाब दिएको थियो तर एमालेकै दबाब छल्न मुख्यमन्त्री कार्की काठमाडौँ कहिले विराटनगर पुग्ने गरेका थिए ।

आज भने कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको छ । छलफलमा माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रीपरिषद् बिस्तार गर्नेबारे छलफल गरिएको भण्डारीले बताए ।

उनले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा बस्न नसक्ने अडान पनि आफूले बैठकमा राखेको बताए ।

काँग्रेसले पनि गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार बिस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी काँगे्रस सांसद समशेर राईले जानकारी दिए ।