देशभरका ६ लाख घरहरु रित्तो

देशभरका ६ लाख घरहरु रित्तो


काठमाडौँ । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरु रहेको पाइएको छ ।

तथ्यांक अनुसार कुल घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको छ । त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको देखिएको छ ।

तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले यो तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने बताएका छन् । रेग्मीले करिव ६ लाख भन्दा बढी घरहरु रित्तो अवस्थामा रहेको बताए ।

तथ्यांक अनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ ।

त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ ।