उद्धार गर्न गएको प्रहरी टोलीमाथि चक्कु प्रहार

उद्धार गर्न गएको प्रहरी टोलीमाथि चक्कु प्रहार


काठमाडौं । उद्धार गर्न गएका इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु प्रहारबाट घाइते भएका छन् ।

कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि प्रनाउ तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा प्रहरी नायब उपरिक्षक तिवारीलाई लागेको थियो ।

तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए । त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो ।

गए राति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारका अनुसार थापामा मानसिक समस्या रहेको छ ।