पाँच लाखले छाडे उपत्यका

पाँच लाखले छाडे उपत्यका

कहिरन

काठमाडौँ — दसैंका लागि घर फर्कने यात्रुको लर्को लाग्न थालेको छ । घटस्थापना सुरु भएयता नयाँ बसपार्क, चाबहिल, कलंकी, कोटेश्वर, गौशालालगायत क्षेत्रमा घर जाने यात्रुको भीड छ । उपत्यकाबाट बाहिरिने चारै नाकामा उपत्यका छाड्नेको भीड लाग्ने गरेको छ । यी नाकामा घटस्थापनायता प्रायः समय सवारीको ताँती देखिन्छ, जसले गर्दा यी नाकामा ट्राफिक जाम हुने गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्न भने ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । यातायात व्यवसायीका अनुसार नवमीसम्म यात्रु बाहिरिने गरेका छन् । तर सबैभन्दा बढी यात्रु फूलपाती र अष्टमीका दिन बाहिरिन्छन् ।  ट्राफिक प्रहरीका अनुसार घटस्थापनादेखि शुक्रबार बिहानसम्म चार लाख ६५ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् ।

गाडी रिजर्भ गरेर जानेको संख्या पनि उस्तै छ । व्यवसायीका अनुसार पारिवारिक रूपमा गाडी रिजर्भ गरेर जाने धेरै छन् । तिनको हिसाब नहुने गरेको व्यवसायीको दाबी छ । सुदूरपश्चिम जाने यात्रुको चाप धेरै भएकाले काठमाडौं उपत्यकामा चलिरहेका सार्वजनिक सवारीलाई त्यता पठाउन थालिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले जनाए । यातायात व्यवस्था विभागले असोज २६ देखि पूर्णिमासम्म लागू हुने गरी रुट परमिट खुला गरिएसँगै काठमाडौं उपत्यकामा चलिरहेका सार्वजनिक सवारीसाधनलाई विभिन्न जिल्लामा यात्रु लिएर जान सहज भएको हो ।

‘शुक्रबार र शनिबार उपत्यका छाड्ने यात्रुको चाप अघिपछि भन्दा धेरै नै हुने गर्छ,’ उनले भने, ‘शुक्रबारबाट सरकारी कार्यालय बिदा हुने भएकाले पनि यी दिनमा धेरै यात्रु बाहिरिने अनुमान छ ।’ अहिलेसम्म यातायात व्यवसायीले यात्रुलाई सहजै गन्तव्यमा पुर्‍याउने काम गरिरहेको उनको दाबी छ । ‘सडकको अवस्था पहिलाभन्दा केही सुधार गरिएको छ,’ उनले भने, ‘त्यसैले पहिलाको जस्तो गाडी चलाउन धेरै समस्या छैन ।’ यात्रुले नारायणगढ–बुटवल, नागढुंगा–मुग्लिङ, पोखरा–मुग्लिङ र कञ्चनपुर–कमला सडक खण्डमा यात्राका क्रममा ट्राफिक जामको सास्ती खेप्नुपर्ने अवस्था भने उस्तै छ । सडक विभागले भने पहिलाको तुलनामा दसैंमा घर जाने यात्रुका लागि ट्राफिक जाम नहोस् भनेर सडकमा ट्राफिक व्यवस्थापनको काम गरिएको दाबी गरेको छ । यात्रुले भने दोब्बर भाडा लिए पनि कसैले पनि कारबाही नगरेको गुनासो गर्दै आएका छन् । ‘टिकटमा एउटा भाडा लेख्छन्, हामीसँग बढी असुल्छन्,’ काठमाडौंबाट शुक्रबार ओखलढुंगा जान लागेका एक यात्रुले भने, ‘उनीहरूले भनेको जति भाडा नतिरे टिकट छैन भन्दै फर्काइदिन्छन्, प्रहरी, यातायात व्यवस्था विभागलाई उजुरी गरे कारबाही नै गर्दैनन् ।’

चाडबाडमा यातायात व्यवसायीले यात्रुलाई धम्क्याएर बढी भाडा असुलिरहे पनि कारबाही गर्ने निकाय मौन रहेको ती यात्रुको आरोप छ । सरकारले यात्रु नठगिऊन् भनेर काभ्रेको साँगासहित काठमाडौं उपत्यकाका १६ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको भए पनि ती ठाउँ खाली भेटिन्छन् । त्यहाँ कोही नहुँदा यात्रुले बढी भाडा असुल्नेविरुद्ध गुनासो गर्न पाउँदैनन् । केहीकेही स्थानमा मात्र प्रहरी बसेर यात्रुलाई सहायता गरिहेका भेटिन्छन् । यता यातायात व्यवस्था विभागले भने बढी भाडा लिएको गुनासो कमै आउने गरेको र आएका गुनासालाई सम्बोधन गर्दै त्यस्ता व्यवसायीलाई कारबाही गरेको दाबी गरेको छ ।

घटस्थापनाको दिन असोज २८ मा ५१ हजार २ सय ७९ जना यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । उनका अनुसार २९ गते ५१ हजार ३ सय ८७, असोज ३० बिहानसम्म ७३ हजार ८ सय ९६, कात्तिक १ मा ९१ हजार १ सय २, कात्तिक २ बिहानसम्म ९८ हजार ३३२ र कात्तिक ३ सम्म ९९ हजार ९ सय ९१ जना बाहिरिएका छन् ।