दशैंको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरेर महाअष्टमी पर्व मनाइँदै

दशैंको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरेर महाअष्टमी पर्व मनाइँदै

कहिरन

बडा दसैँको आठौँ दिन आज दुर्गाभवानीकोआठौं स्वरुप महागौरीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदैछ ।
यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ । बिहान सबेरैदेखि विभिन्न शक्तिपीठहरूमा बलि चढाउने र पूजाआराधना गर्नेहरूको घुइँचो लागेको छ ।

महाअष्टमीकै अवसरमा आज दसैँघर तथा जमरा कोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, हातहतियार र सवारीसाधन सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ। पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिराँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खिर तथा नरिवल चढाउने गर्दछन्।

गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाका दिन बौद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दसैँघर अनि विभिन्न मन्दिरमा विशेष घुइँचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुआतमा देवीहरूको विशेष पूजा अनुष्ठान हुने गर्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरूको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।

आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ । सतीदेवीले आफ्ना पति महादेवको आफ्नै पिता दक्ष प्रजापतीको मुखबाट गरिएको निन्दा सुन्न नसकेर अग्नि–कुण्डमा हामफालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् ।
शक्तिकी महास्वरुप महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरूले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा बलि दिने गर्दछन् ।

आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दसैँ घरमा ५४ वटा राँगा र ५४ वटा नै बोकाको बलि दिइन्छ । काठमाडौं उपत्यका वरिपरिका शक्तिपीठहरू जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आरधना गरी बलि चढाउनेहरूको घुइँचो लाग्ने गर्छ ।

त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरूमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।