राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमै महिलाको हत्या

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमै महिलाको हत्या


सुर्खेत । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन् ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

लोकबहादुरले मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए ।

भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्वीकार गरेको, दसीप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

लोकबहादुर गत असोज ३ गते नवौँ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन् । उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका–१ खलंगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।

अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान्–श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्बर १ बुक गरेका थिए । दुवै जना २९ गते बिहान १० बाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो ।

लोकबहादुरले भावनाको घाँटीमा धारिलो चक्कु प्रयोग हत्या गरेको डिएसपी भट्टराईले बताए । अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रहरीको भनाई छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिवादीको मोबाइलसमेत बरामद गरेको छ ।

प्रतिवादी कारागारमुक्त भए यता २५ दिनमा दुई जनाबीच मोबाइलमा १२४ पटक कुराकानी भएको, प्रतिवादी कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।

हत्या आरोपी लोकबहादुरले बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए । उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाइएका लोकबहादुर २०७९ फागुन १४ गते कैद परेका थिए । अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए ।

२०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो । प्रहरीले लोकबहादुरविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।