गाजापट्टीको अस्पतालमा हवाई आक्रमण,झन्डै चार सयको मृत्यु भएको अनुमान

गाजापट्टीको अस्पतालमा हवाई आक्रमण,झन्डै चार सयको मृत्यु भएको अनुमान

कहिरन

एजेन्सी । इजरायलले गाजापट्टीको एक अस्पतालमा गरिएको हवाई हमलामा झन्डै चार सयको मृत्यु भएको अनुमान गरिएको छ । गाजापट्टीको अस्पतालमा गरिएको हवाई आक्रमण पछी अस्पताल भवन भग्नावशेषमा परिणत भएको जनाएको छ । भग्नावशेषमा अझै सयौं मान्छे च्यापिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्यालेस्टाईनको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफुहरुले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनकै कुनै कट्टरपन्थी समुह वा प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको हुन सक्ने दावी गरिरहेको छ । तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरुले झुटको संज्ञा दिएका छन् ।

इजरायलले उत्तरी गाजापट्टी खाली गर्न आदेश दिएको केही दिनमै अस्पतालमा भीषण हमला भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो घटनालाई आतंकबादी हमलाको संज्ञा दिंदै इजरायली बालबालिकाको हत्या गरेको हमासले आफ्ना बालबालिकाको पनि अनाहकमा ज्यान लिएको प्रतिक्रिया दिनुभएको छ ।

प्यालेस्टाइन नेता महमुद अब्बासले भने इजरायली बर्बरताको सिमा नाघेको प्रतिक्रिया दिनुभएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसियसले अस्पतालमा भएको रकेट हमलाको भत्सर्ना गर्दै नागरिकको स्वास्थ्य सुरक्षाको रक्षा गर्न माग गर्नुभएको छ ।

यसैबीच जोर्डनको अम्मानमा भोलि अमेरिकी राष्ट्रपति जो बाइडेन सहित जोर्डन, प्यालेस्टाइन र इजिप्टका अधिकारी सम्मिलित  सम्मेलन हुने तय भएको थियो । जुन शिखर सम्मेलन जोर्डनले रद्द गरिदिएको छ ।

जोर्डनले वर्तमान समयमा इजरायलले गाजापट्टीमा जारी राखेको आक्रमण रोक्ने बाहेक अन्य कुनै विषयमा वार्ता नगर्ने एवं गर्नुको औचित्य समेत नरहेको भन्दै सम्मेलन स्थगित गरेको हो ।

अमेरिकी राष्ट्रपति बाइडेन भने इजरायल भ्रमणमा निस्किसक्नुभएको छ ।