सामूहिक बलात्कारको आरोपमा पक्राउ परे तीन यातायात मजदुर

सामूहिक बलात्कारको आरोपमा पक्राउ परे तीन यातायात मजदुर

कहिरन

२५ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू यातायात मजदुर हुन्।

पीडितले दिएको किटानी जाहेरीका आधारमा बलात्कार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय एक बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन्। १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीको भनाइ छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बलात्कार आरोपमा तीन जना यातायात मजदुर पक्राउ परेको बताए। २५ वर्षीया युवतीमाथि विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार भएको थियो।

घटनामा संलग्नहरु आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए।

खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरु फर्किए।

फर्किने क्रममा: सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ गरी ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी डीएसपी दाहालले दिए।

उनकाअनुसार पार्किङ गरेर राखेको दुइटा ट्रकको बीचमा रहेको खाली ठाउँमा युवतीमाथि सामूहिक बलात्कार गरेको खुलेको छ।

घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पीडित युवती चिच्याउन थालेपछि स्थानीय र पैदलयात्रीले घटना थाहा पाएका थिए।