आज कोशी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लाग्ने

आज कोशी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लाग्ने

कहिरन

कोशी प्रदेशमा आज मुख्यमन्त्रीको टुंगो लाग्दैछ।

मुख्यमन्त्रीका लागि कांग्रेसबाट केदार कार्की र माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बोले बहुमत सांसदहको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।

आङ्बोले गठबन्धन दलका सांसदहरूको हस्ताक्षर बुझाएका छन् भने कार्कीले कांग्रेसको शेखर कोइराला पक्ष र एमालेका गरी बहुमत सांसदहरूको हस्ताक्षर बुझाएका छन्।

सांसहरूको हस्ताक्षर बुझाएपनि सनाखतका लागि समय लाग्ने भन्दै शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले बाँकी प्रक्रिया शनिबारदेखि थाल्ने बताएका थिए।

प्रदेश प्रमुखले मुख्यमन्त्री दाबी गर्न दिएको दिएको शुक्रबार साँझसम्मको समयभित्र बहुमत सांसदहरूको हस्ताक्षर बुझाउँदा सनाखतका लागि नबोलाइएपछि एमालेका हिक्मत कार्की र मुख्यमन्त्री दाबी गरेका कांग्रेसका केदार कार्की हिजै प्रदेश प्रमुख खापुङलाई भेट्न गएका थिए।

उनीहरूले ‍शुक्रबार साँझ नै सनाखतका लागि प्रदेश प्रमुखलाई आग्रह गरेपनि उनले समय लाग्ने र शनिबार बिदा भएपनि सनाखतको प्रक्रिया अगाडि बढाउने बताएका थिए।

‘हामी सबै उपस्थित छौ, सनाखत आजै गरौ भनेर हामिले भनेका थियौं,’ एमालेका कार्कीले भने, ‘उनले प्रक्रिया पुर्‍याएर बोलाउने भन्नुभाछ।’

प्रदेश प्रमुखको कार्यालयले  शुक्रबार बेलुका विज्ञप्ति जारी गरेर मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शनिबार बिहान ८ बजेदेखि सुरू गर्ने जानकारी गराएको थियो।

सनाखतका लागि आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सांसहरूलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गर्नका लागि समय निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए।

कोशीमा आज बन्ने सरकार संविधानको धारा १६८ (५) अनुसारको हो। प्रदेश सभाको निर्वाचनपछि कोशीमा आज बन्ने सरकार पाँचौं हुनेछ। दलीय अंकगणित र दलहरूको निहीत स्वार्थका कारण कोशीमा यसअघि चार पटक सरकार ढलेको छ।

आज बन्ने सरकारले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भए कोशी मध्यावधिमा जानेछ।