एमसिसी प्रसारणलाइनको टेन्डर रद्द हुने

एमसिसी प्रसारणलाइनको टेन्डर रद्द हुने

कहिरन

मूल्यांकनको क्रममा रहेको एमसिसी प्रसारणलाइनको टेन्डर रद्द हुने भएको छ।

एमसिए नेपालले गरेको अनुमानित लागत भन्दा ६१ प्रतिशत महँगो न्यूनतम लागत परेपछि अन्ततः यो टेन्डर नै रद्द हुने भएको हो। एमसिसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि  तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो।

स्रोतका अनुसार बिहीबार बसेको एमसिसी र  एमसिए नेपालको प्राविधिक बैठकमा एमसिसीका अधिकारीले ठेक्का रद्द गर्नुपर्ने बताएका हुन्। अब औपचारिक रूपमा एमसिए नेपालले सूचना जारी गरेसँगै टेन्डर रद्द हुने छ।

अस्वभाविक महंगो लागतमा प्रस्ताव आएपछि अर्थमन्त्री प्रकाशशरण महतले पनि यस विषयमा चासो राखेका थिए।

एमसिए नेपालका कतिपय अधिकारीहरूले  प्रक्रिया छोटो बनाउनको लागि  ‘नगोसियशन’ छलफलबाट लागत घटाउन सकिने बताएका थिए। तर, दुई कारणले नेगोसियसन प्रक्रिया अघि नबढाइएको बताइएको छ।

पहिलो, प्रस्ताव गरेको लागतमध्ये ६१ प्रतिशत महंगो आएपछि यति धेरै लागत घटाउन सम्भव नदेखिएर। दोस्रो, लागत घटाइँदा सम्बन्धित कम्पनीको विश्‍वसनीयतामा प्रश्न उठ्न सक्ने भएकाले।

‘मानौँ नगोसिएशनमा आएर हामीले अनुमान गरेको लागतमा बनाउँछु भन्यो भने पनि यति धेरै महँगो प्रस्ताव गर्नेसँग के विश्वास हुन्छ, ‘ एमसिए नेपाल स्रोतले भन्यो।

प्रसारण लाइन निर्माणको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो। तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो।

एमसिए नेपालले लट–१ अन्तर्गत, लप्सीफेदी–रातमाटे–न्यु हेटौँडाको १ सय १७ किमी, लट–२ अन्तर्गत,  रातमाटे–न्यु दमौलीको ९० किमी  र लट–३ अन्तर्गत, न्यु दमौली–न्यु बुटवल–न्यु बुटवलबाट भारतीय सीमासम्म १ सय ८ किलोमिटर ठेक्का आह्वान गरेको थियो।

कुल ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको हुनेछ। प्रसारण लाइनको क्षेत्रमा पर्ने ८ सय ५६ टावर निर्माणका लागि २ लाख १२ हजार रूखहरू कटान गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकनले देखाएको छ।

लट–१ मै सबैभन्दा न्यून प्रस्ताव नै १३ करोड १५ लाख डलरको प्रस्ताव परेको छ। त्यस्तै लट–२ मा १० करोड ५४ लाख डलर छ भने लट–३ मा १२ करोड ९० लाख डलरको न्यून प्रस्ताव रहेको छ। तीन लटमा परेका न्यून प्रस्तावको जोड्दा पनि ३६ करोड ५९ लाख डलर पुगेको छ।

टेन्डरमा सबै भारतीय कम्पनीहरूले सहभागिता जनाएका थिए।

प्राविधिक रूपमा योग्य ठहरिएका चार कम्पनीहरूमध्ये कल्पतरु पावर ट्रान्समिशन लिमिटेड, भारतले लट एक र दुई को लागि बोलपत्र हालेको थियो। केईसी इन्टरनेशनल लिमिटेड, भारतले लुट दुई र तीन, ट्रान्सरेल लाइटिब लिमिटेड, भारतले लट एक, टाटा प्रोजेक्ट्स लिमिटेड, भारतले लुट दुई र तीनमा बोलपत्र हालेका थिए भने लार्सन एण्ड टुब्रो लिमिटेडले लट एक र तीनमा बोलपत्र हालेका थिए।

एमसिए नेपालले एउटा कम्पनीले दुई लटसम्म बोलपत्र दिन सक्ने गरी टेन्डर खुलाएको थियो।

यो टेन्डर रद्द गरिए अब कसरी टेन्डर अघि बढाउने र लागत कसरी घटाउने भन्ने विषयमा भन्ने निर्णयमा नपुगिएको बताइएको छ।