नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही

नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही

कहिरन समाचार

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार ४९१ जना व्यापारीलाई कारबाही गरेको छ ।

कार्यालयले आर्थिक वर्ष ०७९/८० मा अनियमित रूपमा नाप्नेरतौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो । कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो ।

पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिए । ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,’ उनले भने ।

कार्यालयले आव ०७९/८० मा ३ हजार ४४० व्यापारीलाई नापतौल तथा नाप्नेरतौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ । प्रमुख झाका अनुसार सीमित स्रोतसाधनबीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रुपमा बजार अनुगमन गरेको थियो ।

आव ०७९र८० मा ८ हजार ८५८ व्यापारीले नापतौल तथा नाप्नेरतौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन् । सोही अवधिमा ६ हजार ८३७ ट्याक्सीको मिटर जाँच गरेको छ ।

कार्यालयले आव ०७८/७९ मा अनियमित नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ८ हजार ८५१ व्यापारीलाई कारबाही गरेको थियो भने १ हजार ५०९ व्यापारीलाई नापतौल तथा नाप्नेरतौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो ।

आव ०७८/७९ मा ६ हजार ६२६ ट्यक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिए । कार्यालयले १ करोड ८५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको थियो ।

‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ,’ उनले भने‚ ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ ।’

कार्यालयले आव ०७९/८० मा २ करोड ९ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।