वान एक्स बेटको प्रचारमा पक्राउ परेका कलाकार धरौटीमा रिहा

वान एक्स बेटको प्रचारमा पक्राउ परेका कलाकार धरौटीमा रिहा

कहिरन समाचार

काठमाडौँ । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै पक्राउ परेका कलाकारलाई छाडिएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो ।

उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ । उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो ।