भारतले काठमाडौं–रक्सौल रेलमार्गको डिपिआरको मस्यौदा बुझायो

भारतले काठमाडौं–रक्सौल रेलमार्गको डिपिआरको मस्यौदा बुझायो

कहिरन समाचार

काठमाडौं । भारतले नेपाल–भारत (रक्सौल–काठमाडौं) अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को मस्यौदा नेपाललाई बुझाएको छ ।

नेपालको सुझाव लिने उद्देश्यसहित भारतीय कम्पनी कोंकण रले कर्पोरेसन लिमिटेडले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त रेलमार्गको डिपिआरको मस्यौदा बुझाएको हो । भारतले आफ्नै लगानीमा उक्त रेलमार्गको डिपिआर बनाएको हो ।

मन्त्रालयले उक्त मस्यौदा रेल विभागलाई समेत पठाइसकेको छ । अब मन्त्रालय, विभाग र विज्ञहरूले उक्त मस्यौदामाथि अध्ययन गरेर भारतलाई टिप्पणी तथा सुझाव पठाउनेछन् । त्यसका आधारमा भारतले अन्तिम डिपिआर नेपाललाई बुझाउनेछ ।

सम्झौताअनुसार भारतले गत चैत मसान्तभित्रै नेपाललाई अन्तिम डिपिआर बुझाउनुपर्ने थियो । तर, साढे दुई महिना ढिला गरेर भारतले डिपिआरको मस्यौदा बुझाएको हो । नेपालले टिप्पणी तथा सुझाव पठाएर अन्तिम डिपिआर आउन थप समय लाग्ने देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले मस्यौदामा आवश्यक अध्ययन गरेर भारतलाई टिप्पणी तथा सुझाव पठाइने बताए । त्यसका आधारमा भारतले डिपिआरको अन्तिम फाइल पठाउने उनको भनाइ छ ।

मन्त्रालयका अनुसार डिपिआरमाथि आवश्यक अध्ययन गरेर सुझाव पठाउने काममा रेल विभागले नै नेतृत्व गर्नेछ । त्यसका लागि मन्त्रालयले विभागमा मस्यौदासमेत पठाइसकेको छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले अब मस्यौदामाथि आवश्यक अध्ययन अघि बढाउने बताए ।