कांग्रेस केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न धुम्बाराहीमा छलफल

कांग्रेस केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न धुम्बाराहीमा छलफल

कहिरन समाचार

काठमाडौं । झन्डै एक वर्ष पछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सुरु हुँदै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु हुनेछ ।

केन्द्रीय कमिटी बैठकअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधीकारी र पूर्वपदाधीकारी भेला भएका छन् । पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा अहिलेसम्म पार्टीले गरेका विभिन्न निर्णयहरू अनुमोदनका लागि पेश गरिनेछ । पार्टी विधानले दुई महिनाको बीचमा केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने व्यवस्था गरे पनि सभापतिले बिधान मिचेको भन्दै आलोचना भइरहेको छ । बैठक नबोलाउँदा कांग्रेसले गत मंसिरमा सम्पन्न संघ र प्रदेशको निर्वाचनको समीक्षा समेत अहिलेसम्म गरेको छैन ।

एक वर्षपछि बैठक बस्न लागेकाले चुनावी समीक्षादेखि सत्ता गठबन्धन उलटपुलट र भ्रष्टाचारका काण्डमा आफ्ना नेताको संलग्नतालगायत विभिन्न विषयमा कुरा उठ्ने नेताहरुको भनाइ छ । अधिवेशन सकिएको ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन हुन सकेको छैन भने कोषाध्यक्ष र सदस्यहरुको मनोनयन पनि गरिएको छैन ।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशन पनि हुन सकेको छैन । नेविसंघ, तरुण दल, महिला संघजस्ता संस्था वर्षाैंदेखि तदर्थ समितिका भरमा चल्दै आएका छन् । यी सबै विषयमा बैठकमा कुरा उठ्ने नेताहरुले बताएका छन् ।