माओवादी केन्द्रभित्र फेरि शक्ति सघर्ष

माओवादी केन्द्रभित्र फेरि शक्ति सघर्ष

कहिरन समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र बरियताक्रमलाई लिएर फेरि शक्ति सघर्ष चर्किएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने र बिप्लबलाई महासचिब पद दिने भएपछि पार्टी भित्र दोस्रो बरियताका नेताहरुमा छट्पटी देखिएको छ ।

माओवादी भित्र भरसक बिप्लबलाई नल्याउन दबाब बढेको छ । यदि ल्याई हालेमा महासचिव पद नदिन पार्टी भित्र आवाज उठेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । तर, अहिले नै विप्लवलाई पार्टी ल्याउने निर्णय र निष्कर्षमा नपुगेको माओवादी केन्द्रका सचिव गणेश शाहले जानकारी दिए ।

महासचिव दिने कुराले दोस्रो तहका नेताहरूमा छटपटी सुरू भएको हो । यसअघि महासचिवका लागि जनार्दन शर्मा र बर्षमान पुनबीच टकराब बढेपछि प्रचण्डले देव गुरूङलाई महासचिव बनाएका थिए । पुनले नेत्रविक्रम चन्दतर्फ संकेत गर्दै हिजो अध्यक्षलाई नै बम प्रहार गर्नेले सरकारको कामलाई धन्यवाद भनेकोमा व्यंग्य गरेका थिए ।

महासचिव देव गुरूङले भने मल्टी पार्टी सिस्टममा पार्टी कमजोर बन्नु सामान्य प्रक्रिया भएको बताएका छन् । विभाजनवादको असर व्यक्ति र दलमा पनि पर्ने बताउँदै उनले वैचारिक रूपमा नेताहरूबीच मनमुटाव हुनु सामान्य भएको प्रतिकृया दिएका हुन् ।

गुरुङले पार्टी एकता भएमा विप्लवलाई पनि ल्याउनु सामान्य कुरा भएकाले यसमा विवाद जरूरी नभएको बताए । माओवादी केन्द्रका सचिव गणेश साहले भने प्रचण्डले ल्याउन चाहे पार्टीमा विरोध गर्ने हैसियत कसैसँग नभएको बताए ।

१० वर्ष जनयुद्ध लडेका नेताहरू मूल पार्टी छोडेर हिँडेपछि धर्मराएको माओवादी केन्द्र भित्र पार्टी अध्यक्ष प्रचण्ड पार्टीमा एक्लिएका छन् । २०६५ सालमा पहिलो पार्टीको रूपमा प्रतिनिधिसभामा उदाएको माओवादी पछिल्लो चरणमा सानो समूहमा परिणत भएको छ ।

१० वर्षे जनयुद्धदेखि हालसम्म प्रचण्डले सञ्चालन गरेको पार्टीमा दोस्रो तहका नेताहरूले साथ छोडेसँगै माओवादी थप कमजोर हुन थालेको हो । माओवादी कमजोर भइरहेका बेला जनयुद्धको विषय झिकेर थप आक्रमण हुन थालेपछि पूर्वमाओवादीहरू एक कित्तामा उभिने तयारीमा छन् ।