पुराना र नयाँ राजनीतिक दलहरु मिशन ८४ मा केन्द्रीत

पुराना र नयाँ राजनीतिक दलहरु मिशन ८४ मा केन्द्रीत

कहिरन समाचार

काठमाडौं । नेपालमा पुराना र नयाँ राजनीतिक दलहरुका नेताहरुको वाकयुद्ध चलिरहेको छ । चुनाव सकिएको एक वर्ष पुरा नहुँदै नयाँ र पुराना नेताहरु अबको चुनाव केन्द्रीत अभियानमा लागेका छन् ।

पुरानो पार्टी कांग्रेसमा गगन थापा सहितको दोस्रो पुस्ता पुस्तान्तरणको अभियानमा लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २०८४ मा बहुमत ल्याउने भन्दै कार्यकर्ताको भेला गर्न व्यस्त भएको छ ।

शनिबार काठमाडौंमा भएको कार्यक्रममा कांग्रेस महामन्त्री थापाले पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले मिसन ०८४ अभियान थालेको भन्दै उनले कांग्रेसले मिसन ८० देखि ८४ चलाएर यसबीचमा राम्रो गर्नुपर्ने बताए ।

कांग्रेसले ८४ सालको चुनावमा सबै पार्टी मिलेर एक भए पनि गठबन्धन नगर्ने थापाले बताए । सोही कार्यक्रममा कांग्रेस नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने टिप्पणी गरे ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले स्वतन्त्रको नामबाट राजनीतिमा आएकाहरुको भभिष्य नभएको बताए । पार्टी निकट कानुनी व्यवसायीहरुको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले दलाल पूजीवादमाथि प्रश्न नउठाउनेहरुको हविगत राम्रो नहुने बताए ।

दलाल पूँजीवादले सिर्जना गरेको समस्या समाधान गर्नका लागि रोजगारी सिर्जना गर्ने र सुशासनको प्रत्याभूति दिलाउनका लागि आवश्यक कानुनी व्यवस्था गनुपर्नेमा उनको जोड छ ।

उनले आफ्नो पार्टी मात्रै दलाल, पूँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढ्ने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबी गरे । आफ्नो पार्टीले समाजवादको निर्माणको आधारहरु तय गर्दै अघि बढने प्रतिवद्धता पनि उनले सुनाए ।