समाजवादी मोर्चाको आचारसंहिता बनाउन कार्यदल गठन

समाजवादी मोर्चाको आचारसंहिता बनाउन कार्यदल गठन

कहिरन समाचार

काठमाडौं । सत्तामा रहेका तीन दल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समाजवादी मोर्चाले आचार संहिता बनाउने भएको छ । भावी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल बनाउने निर्णय मोर्चाको आज बसेको बैठकले गरेको छ ।

मोर्चाको अध्यक्षता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गगर्ने भएका छन् । आगामी ६ महिनाका लागि मोर्चाको अध्यक्षता गर्ने जिम्मा नेपालले पाउनु भएको हो । ६/६ महिनामा मोर्चाको नेतृत्व परिवर्तन हुने छ ।

मोर्चाले आचारसंहिता, भावी नीति तथा कार्यक्रम तयार गर्न नेकपा एकीकृत समाजवादीका प्रमेश हमाल‚ नेकपा माओवादी केन्द्रका देव गुरुङ‚ जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको छ ।

कार्यदललाई मोर्चाको आचारसंहिता र भावी नीति तथा कार्यक्रम बनाउने जिम्मा दिइएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । मिति घोषणा गर्ने काम असार २७ गते बस्ने बैठकले गर्ने पाण्डेले बताए । दीर्घकालमा पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको नेताहरूको भनाइ छ ।