युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुको माग

युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुको माग

कहिरन समाचार

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको आजको बैठकमा सांसदहरुले पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बुढाबुढीहरुको संख्या बढेको सरकारी तथ्याङ्क उल्लेख गरेर युवाहरुलाई मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानु भन्दा अघि सीप प्रमाण पत्र बनाउने वातावरण सरकारले बनाउनु पर्ने बताए । उनले नेपाली श्रमिकहरु काम गर्न पुगेको देशहरुसँग सरकारले श्रम सम्झौता गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्रामिकता दिन नहुने तर्क गर्दै मुलुकभित्रै युवालाई रोजगारी सिर्जना गर्ने वातावारण बनाउनुपर्ने बताए । उनले विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको भन्दै राज्यले श्रमिकहरुको सम्मान गर्न नसकेको बताए ।

सांसद रामशंकर यादवले वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटर ब्याजीहरुको जन्म भएको जिकिर गर्दै गरिव जनतालाई वैदेशिक रोजगारीमा पठाउनै पर्ने भए सरकारी फण्ड बनाएर पठाउन माग उठाएका छन् ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भने वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन समितिसँग आग्रह गरेका छन् । मन्त्री भण्डारीले यसअघिको निर्देशनमा महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाइएको निर्णयमा पुनर्विचार गर्न सुझाव दिएका हुन् ।

संयुक्त अरब इमिरेट्स (युएई), कुवेतलगात खाडीका मुलुकमा करिब २० हजारभन्दा बढी महिला श्रमिक रहेको सूचना प्राप्त भएको जनाउँदै उनले महिला कामदारलाई वैदेशिक रोजगारीमा जान सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।