गुडिरहेको बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु

गुडिरहेको बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु

कहिरन समाचार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको लापरवाहीले सल्यानमा गुडिरहेको यात्रुबाहाक बसमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

आज बिहान सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा दाङ तुल्सीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छोइँदा बसमा करेन्ट लागेको हो ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीका अनुसार करेन्ट लागेर रोल्पाको गङ्गादेव गाउँपालिका–४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षीय टोपलाल डाँगीको बसको सिटमै मृत्यु भएको छ ।

उनका अनुसार करेन्ट लागेर सख्त घाइते भएका गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ राणागाउँ निवासी महेन्द्र ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

केसीका अनुसार बसमा १९ यात्रु सवार थिए । बाँकी भने सकुशल रहेका छन् ।