एसईईको नतिजा गत वर्ष भन्दा सुधार, साउनमा ग्रेड वृद्धि परिक्षा

एसईईको नतिजा गत वर्ष भन्दा सुधार, साउनमा ग्रेड वृद्धि परिक्षा

कहिरन समाचार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ‘एसईई’को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी एसईईको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२ हजार ४ सय ७५ जना छन् । गत वर्ष भन्दा यो वर्ष नतिजामा सुधार भएको छ । गत वर्ष ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकोमा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ ।

नतिजामा माथिल्लो जीपीए ल्याउनेको संख्या बढेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । कोभिड महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएको र परिक्षा प्रणालीमा गरिएको परिवर्तनका कारण नतिजामा सुधार भएको अध्यक्ष शर्माले बताए ।

कमजोर नतिजा आउनेले साउनको अन्तिममा ग्रेड वृद्धि परिक्षा दिन पाउनेछन् । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित गरेको जनाएको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।

यसरी हेर्न सकिन्छ नतिजा
एसईईको नतिजा हेर्न विद्यार्थीले वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने गरी बोर्डले व्यवस्था गरेको छ । बोर्डका अनुसार परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार विद्यार्थीले नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था छ ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।