निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

कहिरन समाचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।

मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा ७.५० रुपैयाँ, दोस्रो वर्गमा रु. ६ र तेस्रो वर्गमा ५ रुपैयाँले मूल्य घटाएको छ ।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ , दोस्रो वर्गका क्षेत्रमा १६९ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा १७० रुपैयाँ तोकिएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर रु. १७५ थियो ।

यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १४७.५० रुपैयाँ , दोस्रो वर्गका क्षेत्रमा १४९ र तेस्रो वर्गका क्षेत्रमा १५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु. १४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर रु. ११५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।