एसइईको नतिजा पूरानै पद्धती अनुसार आउने

एसइईको नतिजा पूरानै पद्धती अनुसार आउने

कहिरन समाचार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा पूरानै पद्धती अनुसार हुने भएको छ ।

सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शैक्षिक सत्र २०७९ मा सञ्चालित एसइईको नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार नै गर्ने निर्णय गरेको कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

बोर्डले गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरे पनि नतिजा भने २०७२ को पद्धतिअनुसार नै गरेको थियो । ग्रेडिङ निर्देशिका, २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ भने सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’मा राख्ने व्यवस्था छ ।

बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित एसइईको नतिजा शुक्रबारसम्ममा जार्वजनिक गर्ने गरी तयारी गरिरहेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । एसइई परीक्षा गत चैत १७ गते सुरु भएको थियो । परीक्षामा देशभरका ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।