बदलिदो जीवनशैलीले नेपालमा उच्च रक्तचापका बिरामी बढ्दै

बदलिदो जीवनशैलीले नेपालमा उच्च रक्तचापका बिरामी बढ्दै

कहिरन समाचार

काठमाडौं । बदलिदो जीवनशैली, नुन तथा चिल्लो भएको खानेकुरा धेरै खानु तथा बढ्दोमोटोपनको समस्याका कारण नेपालमा उच्च रक्तचापका बिरामी बढ्दै गएको देखिएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ को प्रतिवेदनमा शहरी क्षेत्रका १८ प्रतिशत र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलाहरुमा उच्च रक्तचाप भएको उल्लेख गरिएको छ । तर पुरुषहरुमा यो भिन्नता धेरै रहेको देखिएको छ ।

शहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको छ भने ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ । पाँच वर्षअघि गरिएको यस्तै सर्वेक्षणमा नेपालमा महिलामा १७ र पुरुषमा २३ प्रतिशतमा उच्च रक्तचाप पाइएको थियो ।

४० बर्ष मुनि देखिने उच्चरक्तचाप सम्बन्धी समस्या जीवनशैलीको कारण भएपनि ४० बर्ष माथिको उमेर समूहमा देखिने ९० प्रतिशत उच्च रक्तचाप बंशाणुगत कारणले हुने वरिष्ठ मुटु रोगविशेषज्ञ डाक्टर अरुण सायमीले बताए ।

महिलाहरुमा देखिने रक्तचाप सम्बन्धी समस्यालाई भने दुई तरिकाले हेर्नु पर्ने बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. किर्तिपाल सुवेदीले बताए । उनका अनुसार गर्भावस्था र गर्भावस्था पछिको जीवनशैलाई लिएर महिलामा देखिने रक्तचाप समस्यालाई हेरिने गरिन्छ ।

गर्भावस्था बाहेकको समयमा महिलाहरुमा देखिने रक्तचाप सम्वन्धी समस्या भने मोटोपन, निष्कृय जीवनशैली, जंकफूडहरुको सेवन तथा बंशानुगत कारणहरुमा निर्भर चिकित्सकहरुले बताएका छन् ।