आइसीसी विश्वकप छनोट: नेपालले युएईलाई हरायो

आइसीसी विश्वकप छनोट: नेपालले युएईलाई हरायो

कहिरन समाचार

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले युएईलाई पराजित गरेको छ । जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ८५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले ।

६३ रनमा ६ विकेट गुमाईसकेको नेपालका लागि दीपेन्द्र र गुलसन झाले सातौं विकेटका लागि ४६ बलमा ४३ रनको साझेदारी गरेर खेलमा फर्काउने कोसिस गरे ।

आठौं विकेटका लागि दीपेन्द्रले सन्दीप लामिछानेसँग मिलेर ९० बलमा ७९ रनको विजयी साझेदारी गरे । सन्दीपले ३७ बलमा २ चौकाको साथमा अविजित २३ रन बनाए ।

युएईका लागि मुहम्मद जवादुल्लाहले ३ तथा रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो ।

युएईका लागि कप्तान वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान गरे । रोहन मुस्तफाले ३५ तथा बासिल हमिदले २९ रनको योगदान गर्दा आर्यन शर्माले २८ रन जोडे । संचित शर्मा १२ रन तथा रमिज शाहजादले १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ तथा प्रतिस जि।सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

जितसँगै नेपालले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित युएईले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।