ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

कहिरन समाचार

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हडप्ने थप तीन जना पक्राउ परेका छन् । बालुवाटारको ललिता निवास प्रकरणमा काठमाडौं महानगरपालिकामा कार्यरत अधिकृतसहित थप तीन जना पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

सरकारी जग्गा हिनामिना गर्दा कर्मचारीलाई २२ रोपनी घुस दिएको ललिता निवास प्रकरणमा काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

भट्टराई २०६० सालमा काठमाडौं महानगरपालिका– ४ का वडासचिव थिए भने हाल महानगरका अधिकृत छन् । कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए । उनले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए ।

यसअघि सिआइबीले ७ जनालाई नियन्त्रणमा लिएपनि अदालतको स्टे अर्डरका कारण ३ जना रिहा भइसकेका छन् । निर्वाचन आयोगका पूर्वआयुक्त, भाटभटेनी सुपरमार्केटका संचालकसहित चार जना प्रहरी हिरासतमा छन् ।