पार्टी एकताका लागि ठोस पहल गर्छु : प्रचण्ड

पार्टी एकताका लागि ठोस पहल गर्छु : प्रचण्ड

कहिरन समाचार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार बिहान पोखरामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ’, प्रचण्डले भने, ‘त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ ।’

प्रधानमन्त्री प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेकोले त्यसलाई सफा नगरी देश नबन्ने जिकिर गरे । उनले प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को मार्ने आफ्नो संकल्प रहेको बताउँदै पार्टीका सबै नेता/कार्यकर्तालाई देशको समृद्धिको पक्षमा काम गर्ने अठोट लिनुपर्ने बताए ।