बाँदर नियन्त्रणको माग गर्दै प्रदेश सभा अगाडि किसानको धर्ना

बाँदर नियन्त्रणको माग गर्दै प्रदेश सभा अगाडि किसानको धर्ना

कहिरन समाचार

हेटौंडा । बाँदर नियन्त्रणको माग गरी धादिङका किसानले बागमती प्रदेश सभा अगाडि धर्ना दिएका छन् । बाँदरले बाली नष्ट गर्न थालेपछि धादिङका बासिन्दाले बुधबार प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन् ।

दुई वटा बस रिजर्भ गरेर नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिका लगायत विभिन्न गाउँबाट प्रदेश राजधानी हेटौंडा आएका १५० जना किसानले बाँदर नियन्त्रणको माग गर्दै नाराबाजी गरेका थिए । यसअघि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि धर्ना बस्न आएको उनीहरूले बताए ।

उनीहरूले बाँदर नियन्त्रणका लागि कानून बनाएर पहल गर्न माग गरेका छन् । त्यस्तै, बाँदरबाट भएको क्षतिमा राहतको व्यवस्था गर्न पनि किसानको माग छ ।

किसानसँग छलफल गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बाँदर नियन्त्रणका लागि सरकारले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

मकवानपुरको राक्सिराङ, मकवानपुरगढी लगायत स्थानीय तहमा पनि बाँदरको समस्या छ । बाँदर तर्साउन स्थानीय तहले बन्दूक पनि वितरण गरेको थियो । तर, त्यो पनि प्रभावकारी नभएको किसानले बताएका छन् ।