सन्दीप लामिछानेको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश

सन्दीप लामिछानेको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश

कहिरन समाचार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश दिएको छ ।

सोमबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । उपचार खर्चवापत १ लाख रुपैयाँ सरकारी कोषबाट दिलाउन अदालतले आदेश दिएको छ ।

पीडित किशोरीले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । पीडितको पक्षबाट अधिवक्ता शशि अधिकारीले अस्पतालको बिलभर्पाई र मनोवैज्ञानिकसमेतको बकपत्र गराएका थिए ।

अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । सो निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै निवेदन खारेज गरेको थियो । तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित हुँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो ।