परीक्षा बिना लाइसेन्स दिने यातायातका तीन कर्मचारी अख्तियारको नियन्त्रणमा

परीक्षा बिना लाइसेन्स दिने यातायातका तीन कर्मचारी अख्तियारको नियन्त्रणमा

कहिरन समाचार

धनगढी । लिखित तथा प्रयोगात्मक परीक्षा बिना नै पास गराउने यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका तीन कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।

कार्यालयका तत्कालीन प्रमुख लक्ष्मण शाही, तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्र कुमार कठरिया र कम्प्युटर अपरेटर पवन कुमार रावललाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

उनीहरुले आर्थिक वर्ष २०७८/७९ मा प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीलाइ उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका तथा परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई लाइसेन्स वितरण गरेका थिए । उनीहरुले ४ सय ६३ जनाको परीक्षाको नतिजा फेरबदल गरेका अख्तियारले जनाएको छ ।

तत्कालीन प्रमुख शाहीको आधिकारिक युजर आइडि प्रयोग गरी लाइसेन्सका लागि लिइएको लिखित परीक्षामा अनुत्तीर्ण भएका १८० जनाको परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण गराएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यस्तै, ट्रायल परीक्षार्थी २ सय ८३ जनाको नतिजामा हेरफेर गरिएको दाहालले बताए ।

उनका अनुसार केही परीक्षार्थीहरुको प्राप्तांक रि राइट, ओभर राइट, अनुपस्थित व्यक्तिको फिल्ड प्रतिवेदनको प्राप्तांकमा पुर्नलेखन गरी नतिजा फेरबदल गरेको पुष्टि भएको छ । अख्तियारले प्रतिवादी तीनैजनालाइ प्रचलित कानून अनुसार हदैसम्म कारबाहीको माग गरेको छ ।