शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू

शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू

कहिरन समाचार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ । पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो ।

पछिल्लो समयमा खस्कदै गएको सामुदायिक विद्यालयको अवस्था मद्देनजर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ । शैक्षिक गुणस्तर कायम राख्न पालिकाका ६ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गापा शिक्षा शाखाका प्रमुख शंकर धितालले बताए ।

उनका अनुसार वडा समितिले आफ्ना वडाभित्रका शैक्षिक संस्थालाई नियमन, सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि थप जिम्मेवार बनाउन पहल गर्नेछ । उनले गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको बताए ।

त्यस्तै सिंजा गापा उपाध्यक्ष सीतली रोकायाले अभिभावक शिक्षा कार्यक्रम विद्यालयले शैक्षिक अवस्था र विद्यार्थीको सिकाइ क्रियाकलापमा टेवा पुग्ने बताइन् । उनका अनुसार यो कार्यक्रम शिक्षकमात्रै नभई अभिभावकलाई जिम्मेवार बनाई पढाइको वातावरण तयार पार्न सहयोगी हुनेछ ।

यो कार्यक्रमले शिक्षा क्षेत्रमा सुधार हुने गापा प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । विद्यार्थीको वास्तविक सिकाइको अवस्था पहिचान गर्न शिक्षक, शिक्षा क्षेत्रमा देखापरेका समस्या हल गर्न उक्त कार्यक्रम महत्वपूर्ण रहेको छ ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउनुअघि नै शिक्षा शाखाले विद्यालयको शैक्षिक अवस्था परिवर्तनका लागि सबै निकायबाट सुझाव संकलन गरेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।