विपद् व्यवस्थापन: ११ स्थानमा मानवीय सहायतास्थल स्थापना

विपद् व्यवस्थापन: ११ स्थानमा मानवीय सहायतास्थल स्थापना

कहिरन समाचार

काठमाडौं । सरकारले विपद् व्यवस्थापनका लागि देशका ११ स्थानमा मानवीय सहायतास्थल र आपत्कालीन भण्डारण स्थापना गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ११ स्थानमा मानवीय सहायता आपतकालीन भण्डारण स्थापना र पाँच वटा मेसिन जडानसहित २८ डुङ्गाको व्यवस्थापन भइरहेको जानकारी दिए ।

दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा उनले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषद्मा पठाइसकिएको पनि बताए ।

मन्त्री श्रेष्ठका अनुसार हवाई उद्धारका लागि तीन वटा हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ । उनले मनसुन अवधिको लागि कमान पोस्ट गठन गरेको पनि सुनाए । बैठकमा समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

मनसुनजन्य विपद्बाट पछिल्लो एक सातामा विभिन्न जिल्लामा गरेर १३ जनाको मृत्यु भएको छ । यसै अवधिमा २६ जना बेपत्ता भएका छन भने ८ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका निमित्त सचिव एवम विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्थले पाढी पहिरोमा परेर ताप्लेजुङमा तीन जना, पाँचथरमा तीन, संखुवासभा र तनहुँमा २/२ तथा भोजपुर, नुवाकोट र गोरखामा १/१ जनाको मृत्यु भएको जानकारी दिए ।

जेठ ३१ गतेदेखि आजसम्म मनसुनजन्य विपद्बाट ४१ घरमा पूर्ण क्षति भएको छ भने सात घरमा आंशिक क्षति पुगेको छ ।