वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार

वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार

कहिरन समाचार

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा वेस्ट इन्डिजले नेपाललाई फराकिलो अन्तरले हराएको छ । जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा भएको आफ्नो तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले हारेको हो ।

वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा अलआउट हुदै २ सय ३८ रन मात्र बनायो ।

नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटका लागि १६ बलमा १८ रनको साझदारी गरेका थिए । भीम सार्कीले ७ बलमा २ रन बनाएका थिए ।

सातौं विकेटका लागि आरिफ शेख र गुलसन झाले ९४ बलमा ६८ रनको महत्वपुर्ण साझेदारी गरे । गुलसन ५८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाउँदै आउट भए । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौकाको सहयोगमा ३० रन बनाए । ओपनर आसिफ शेखले ३६ बलमा २८ रन बनाए । करण केसीले २७ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २/२ विकेट लिए । कायल मेयर्सको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान साई होप र निकोलस पुरनले सानदार शतक बनाएपछि वेस्ट इन्डिजले विशाल स्कोर बनाएको थियो । यी दुईले चौथो विकेटमा २ सय १६ रनको साझेदारी गरे ।

कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । ९४ बल खेलेका पुरनले १० चौका र ४ छक्काको सहयोगमा पुरनले १ सय १५ रन बनाए । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

यस्तै ब्राण्डन किङले ३२, रोभमन पोवेल १४ बलमा २९ र किमो पाउल १ रनमा आउट भए । जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा अविजित रहे ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।

दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।