ऋृण लिनेविरुद्ध ऋृण दिनेहरु नै धर्नामा, सरकार मुखदर्शक

ऋृण लिनेविरुद्ध ऋृण दिनेहरु नै धर्नामा, सरकार मुखदर्शक

कहिरन समाचार

काठमाडौं । चर्को ब्याजमा ऋृण लगानी गर्नेहरुले आफूहरुलाई कारवाही गर्न ल्याएको अध्यादेश कार्यान्वयन गर्न चुनौती दिएका छन् । तराईका विभिन्न जिल्लाबाट आएका चर्को ब्याजमा ऋण लगाउनेहरु आफूहरुलाई कारबाही गर्न ल्याएको अध्यादेश खारेज गर्न माग राखेर धर्नामा बसेका छन् ।

मिटरब्याजी साहुकारहरुले संघर्ष समिति गठन गरेर पीडित लेनदेन संघर्ष समितिसहित मधेश प्रदेश, रौतहट लगायत तराईका विभिन्न जिल्लाबाट आएका उनीहरूले काठमाडौंको माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुंग पार्न खोजिएको आरोप उनीहरुको छ ।

आफूहरूलाई सरकारले डर त्रास देखाएर मिटरब्याजी भनेर बदनाम गर्न खोजेको पनि उनीहरुको आरोप छ । उनीहरुले कुनै पनि बहानामा आफूहरुलाई अफ्ठेरो पार्न खोजिए चरणबद्ध आन्दोलन थाल्ने चेतावनी सरकारलाई दिएका छन् ।

आन्दोलित मिटरब्याजी साहुकारहरुले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलका लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको सावाँ र ब्याज उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् ।

प्रदर्शनमा सहभागीहरूले लेनदेन कारोबार सहज गर्, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर्, कानून बमोजिम गरिएको लगानी कानून बमोजिम फिर्ता गरियोस्, प्रहरी दमन बन्द गर् लगायतका प्लाकार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् ।

यता मिटरब्याजमा ऋण लगानी गरेकाहरु नै आन्दोलनमा उत्रेपछि पीडितहरु रणभुल्लमा परेका छन् । सरकार भने मुखदर्शक बनेको छ ।