आईसीसी विश्वकप छनोटमा नेपालको पहिलो जित

आईसीसी विश्वकप छनोटमा नेपालको पहिलो जित

कहिरन समाचार

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनौटमा नेपालले पहिलो जित निकालेको छ । छनौट अन्तर्गतको मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकालेको हो ।

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा जितका लागि अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

नेपालको जितमा भिम सार्कीले अबिजित रहँदै ७७ रनको योगदान गरे । दिपेन्द्र सिं ऐरिले अबिजित ३९ रन जोड्दा कुशल भुर्तेलले समान ३९ रनको योगदान गरे ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको अमेरिका ४९ ओभरमा अलआउट हुँदै २०७ रनमा समेटिएपछि नेपालले जितका लागि २०८ रनको लक्ष्य पाएको हो ।

अमेरिकाका लागि शायन जाङ्गीरले अबिजित रहँदै सर्बाधिक एक सय रनको योगदान गरे । सुशान्त मोदनीले ४२ तथा गजान्द सिंहले २६ रनको योगदान गरे ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ करण केसीले सर्बाधिक चार विकेट लिए । गुल्सन झाले तीन तथा दिपेन्द्र सिं ऐरीले दुई विकेट लिँदा दलित राजबंशीले एक विकेट हात पारे ।

आजको जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ । जितसँगै २ अंकका साथ नेपाल समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । अमेरिका भने चौथो स्थानमा झरेको छ ।

आजै भएको अर्को खेलमा घरेलु टोली जिम्मबाले नेदरल्याण्डमाथि ६ विकेटको शानदारे जित निकालेको छ । जितका लागि नेदरल्याण्डले दिएको ३१६ रनको लक्ष्य जिम्मबाबेले ४०.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।