राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

कहिरन समाचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ । मुटुको चालमा गडबडी भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका राष्ट्रपति पौडेलको मुटुमा मंगलबार पेसमेकर राखिएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए ।

मुटुमा समस्या देखिएपछि शनिबार अस्पताल पुग्नुभएका राष्ट्रपति पौडेललाई चिकित्सकले मुटुको चाल निगरानीका लागि भन्दै भर्ना गरेर राखेका थिए । करिब ७२ घण्टाको नियमित निगरानीका क्रममा उनको मुटुको चाल बेला बखतमा कम हुने देखिएकोले विशेषज्ञहरुको राय अनुसार पेस मेकर राखिएको अस्पतालको विज्ञप्तीमा उल्लेख छ ।

पेसमेकर एक प्रकारको यन्त्र हो । यसले मुटुको चाल अचानक कम भएर शरीरलाई चाहिने आवश्यक रक्तसंचार नपुगेको बेलामा मुटुको धड्कन सामान्य बनाउन मद्दत गर्ने चिकित्सकहरुको भनाइ छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

राष्ट्रपति पौडेलको गत मंगलबार शहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो । एकदिन अस्पताल भर्ना भएर बसेको राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ भएका थिए । त्यसपछि गत शनिबार राति २ बजे थप समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्ज लगिएको हो ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल गत बैशाखमा पनि झन्डै दुई साता लामो समय भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर आएका थिए ।