गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा नचल्दा निजी क्षेत्रको ८० अर्ब डुब्ने चिन्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा नचल्दा निजी क्षेत्रको ८० अर्ब डुब्ने चिन्ता

कहिरन समाचार

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित बनेको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो । विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल, पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेको बताए । उनले निजी क्षेत्रले अर्बौंको लगानी गरेपनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश रहेको बताए ।

उनले विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीहरूमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको जिकिर गरे । उनले विमानस्थललाई आधार बनाएर लगानी गरिसकेकाले सरकारले विमानस्थल सञ्चालनको लागि पहल गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष शर्माले प्रधानमन्त्रीको भारत भ्रमणबाट राम्रो संकेत प्राप्त गरेको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण गर्न आवश्यक रहेको औँलाए बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके देशले चाहेको अर्थतन्त्र चलायमान हुनसक्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा भारत सरकारसँग पहल गरेकाले आशाको संकेत देखिएको बताए । उनले निजी क्षेत्रको अर्बौंको लगानी सुरक्षित बनाउन आवश्यक रहेको र सरकारले विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याएर मानिसहरूको चहलपहल बढ्दा लुम्बिनी क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षाका आधारमा निजी क्षेत्रले लगानी गरेको बताए ।

त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक–पटक मन्त्री, प्रधानमन्त्री, सचिव, ठूला राजनीतिक दलका नेता आउँदा निजी क्षेत्रले ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म पहल नभएको बताए । उनले उद्योगी व्यवसायीहरूले विभिन्न समयमा धर्ना समेत दिएर दबाबमूलक कार्यक्रम सञ्चालन गरे पनि सुनुवाइ नभएको गुनासो गरे ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्रै उडान भरेर केही नहुने भन्दै नेपाली ध्वजावाहक विमानले नियमित उडान नभरेसम्म अन्य वायुसेवा कम्पनीहरू नआउने बताए । उनले सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा उडान हुँदा लुम्बिनीबाट एउटा उडान गर्ने व्यवस्था लागू गर्नु आवश्यक रहेको बताए ।

विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । केही समय पहिला अलजजिराले अन्तर्राष्ट्रिय उडान भरे पनि अहिले उडान भर्न छाडेको छ । गत मंगलबार नेपाल वायुसेवा निगमको मलेसियाबाट आएको एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

अब निगमले एउटा उडान उक्त विमानस्थलबाट गर्ने तयारी गरिरहेको छ । विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटल र साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् ।